सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ – चैत्र २१, एमाले वरिष्ठ नेता माधव नेपालले नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईलाई स्वतन्त्ररुपमा निर्वाचन लड्न सुझाव दिएका छन् । समयमा बुद्धि नपुर्याएको र ढिलो निर्णय गरेको परिणामको दोष आफैंलाई दिएर अघि बढ्न उनले भट्टराईलाई अनुरोध गरे । ‘समयमा औषधी नखाए रोग निको नभएर आफैं मृत्युको मुखमा पुगिन्छ,’ प्रेस चौतारीको भेटमा पत्रकारको जिज्ञासामा सोमबार नेपालले भने, ‘भट्टराईलाई पनि त्यही भएको छ । समय बितेपछि अब अरु कुरा गरेर केही हुँदैन ।’ अब कसैलाई पर्खेर नबसिने भन्दै उनले भट्टराईलाई स्वतन्त्ररुपमा निर्वाचन लड्न सुझाए । संसदबाहिरका दललाई स्थानीय तह चुनावकालागि चिन्ह नदिइएको भन्दै नयाँ शक्तिले आइतबार निर्वाचन आयोग कार्यालय घेराउ गरेको थियो ।
नेपालले अब संविधान संसोधनको व्याख्या वा कुरा गर्ने समय नभएको बताए । कसैको केही गुनासा भए निर्वाचन पछि समय क्रममा समाधान गर्दै जाउला भन्दै उनले देशको हितमा भएमात्रै छलफल र समाधान गरिने बताए । मधेसवादी दलले पनि निर्वाचनलाई प्रजातन्त्रको खम्बा बानेकाले निर्वाचनमा नआएर गल्ती गर्लान् जस्तो आफूलाई नलागेको उनको भनाई थियो । ‘मधेसवादी दलले लोकतन्त्र नमान्लानजस्तो लाग्दैन,’ उनले भने । देशैभरी चुनावी सरगर्मी बढेको र तराईमा पनि बैशाख ३१ को प्रतिक्षामा जनताहरु बसेको उनले बताए ।
अब कुनै पनि पार्टी निर्वाचनको विपक्षमा गएमा उक्त पार्टीबाट बिद्रोह हुने अवस्था रहेको उनले दाबी गरे । एमालेको लोकप्रियता देखेर कतिपय पार्टीको होसले ठाउँ छाडेको भन्दै उनले अझै पनि कतै षड्यन्त्र हुन्छ की भन्ने आशंका रहेको बताए । षडयन्त्र भइहालेमा त्यसको परिणाम आगामी दिनमा अझै चर्को मूल्य तिरेर भोग्नुपर्ने उनले बताए । ‘निर्वाचनमा अब कसैले बाधा पुर्याउलान जस्तो लाग्दैन,’ उनले भने, ‘सरकारले सानातिना कुरामा वा कसैको बिरोधमा निर्वाचन धकेल्ने बहानाबाजी गर्नु हुँदैन ।’
एमाले देशभक्ति र राष्ट्रियताको सवालमा दह्रो गरी उभिएकोले देश एमालेमय भएको उनले बताए । १९५० को सन्धी अद्यावधिककरण गर्न उठाएको आवाज, टनकपुर सन्धीको विरोध गरेर निष्प्रभावी बनाएको इतिहास र नाकाबन्दीको सामानालगायत कुराले एमाले देशभक्ति भएको उनको टिप्पणी थियो । राष्ट्रियतााको सवालमा कसैको सामु शीर निहुराउँदैन भन्दै उनले एमाले सत्तामा छँदा वा प्रतिपक्षमा बस्दा पनि राष्ट्रिय हितको प्रवक्ताको रुपमा भूमिका खेल्ने उनको भनाइ थियो ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा