सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवन – कास्की र सुनसरीमा कुखुरामा बर्डफ्लु देखापरेपछि देशको कुल उत्पादनको आधाभन्दा बढी कुखुराजन्य उत्पादन हुने चितवनमा उच्च सतर्कना अपनाइएको छ ।यसका कारण अहिलेसम्म जिल्लामा बर्डफ्लु भित्रिन नपाएको सरकारी अधिकारीले बताएका छन् । जिल्ला पशुसेवा कार्यालय चितवनका प्रमुख डा डिल्लीराम सेढाईंका अनुसार जिल्ला भित्रिने र बाहिरिने कुखुराजन्य पदार्थ ढुवानी गर्ने सवारीसाधनमा कीटनाशक औषधि छर्केर मात्रै आवतजावत गर्न दिइएको छ ।
काठमाडौँ, पोखरालगायतका सहरमा कुखुराजन्य पदार्थ ढुवानी गरेका सवारीका साधनलाई भरतपुरको जुगेडी र पूर्वी क्षेत्रमा हेटौँडालगायतका क्षेत्रमा पूरै सफा गरेर कीटनाशक औषधि छर्केर मात्रै जिल्ला प्रवेश गराइने गरेको उनले बताए ।कार्यालयले अण्डा, मासु, चल्ला, दानाको उत्पादन र बिक्री वितरण गर्न बनेका कुखुरासँग सम्बन्धित सङ्घ सङ्गठनका अध्यक्ष एवम् पदाधिकारीसँग निरन्तर छलफल गरिरहेको सेढाईंले बताए ।
दीर्घकालीन रुपमा सुरक्षाका लागि रणनीतिक योजनासमेत बनाइएको उनको भनाइ छ । सङ्घ सङ्गठनमार्फत किसानलाई जैविक सुरक्षा अपनाउन अनुरोध गरिएको छ जसमा फार्म प्रवेश गर्दा बाहिर लगाएको कपडा नलगाउन भनिएको छ र प्रवेशद्वारमा पानीको जैविक घोल बनाई त्यसमा टेकेर गाडी र मानिस प्रवेश गराउन लगाइएको छ ।सेढाईंका अनुसारभित्र छिरेपछि गाडी र मानिसलाई खर्साेलिङ वा पोटासियम परम्याग्नेट मिसाइएको पानी छर्केर निर्मलीकरण गर्न भनिएको छ ।
त्यसैगरी, खोरको ढोकामा पनि पानीको तलाउ बनाएर खुट्टाले टेकेर मात्रै फार्ममा प्रवेश गर्न लगाइएको छ । फार्ममा अन्य पशुपक्षी जान नदिन कडाइ गर्न लगाइएको छ भने कुखुरा प्रवेश गर्ने र बाहिरिने फरकफरक बाटो प्रयोग गर्न लगाइएको छ । फार्म र घरसँगै नराख्न र फार्ममा नियमित चुना छर्कन अनुरोध गरिएको छ ।कार्यालयले जिल्लाका १४ वटा सेवा केन्द्रमार्फत तालिका नै बनाएर नियमित अनुगमन गर्ने र खोजी अभियानकै रुपमा काम गरिरहेको छ ।
प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहने जिल्ला प्राविधिक समितिको बैठक बसेर विशेष उच्च सतर्कता अपनाउन सबैमा अपिल गरिएको छ ।राष्ट्रिय पक्षी रोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डा दयाराम चापागाईंले पूर्वमा मकवानपुर, पश्चिममा नवलपरासी जिल्ला र चितवनका पूर्वी तथा पश्चिमी भेगमा खोजी अभियानलाई तीव्रता दिइएको बताए ।नेपालमा एक सातामा एक लाख ३० हजार लेयर्स चल्ला र २२ देखि २५ लाख ब्रोइलर चल्ला उत्पादन हुँदै आएको छ । नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेलले बर्डफ्लु भित्रिन नदिन व्यवसायीलाई उच्च सतर्कता अपनाउन भनिएको बताए । जैविक सुरक्षामा ध्यान दिए डराउन नपर्ने उनको भनाइ छ ।
देशभरमा दैनिक २२ लाख अण्डा उत्पादन हुँदै आएको छ । अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीले फार्ममा जैविक सुरक्षालाई विशेष ध्यान दिइएको बताउँदै पुरानो पेटी र क्रेट प्रयोग नगरिएको बताए । नेपालमा दैनिक आठ लाख ५० हजार किलो तयारी मासु खपत हुँदै आएको तथ्याङ्क छ ।नेपालमा कुखुराजन्य क्षेत्रमा ७० अर्बभन्दा बढी लगानी भएको व्यवसायीले बताउँदै आएका छन् जसको ५० प्रतिशतभन्दा बढी लगानी चितवनमा छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा