काठमाडौं । सरकारले वैशाखभर सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको आज बिहान बसेको बैठकले वैशाखभर सहरी क्षेत्रका सार्वजनिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङफेले जानकारी दिनुभयो ।

काेराेनाबाट बालबालिकाहरू बढी प्रभावित हुन थालेपछि विद्यालय बन्द गराएर अनलाइन माध्यमबाट पठन पाठन गराउन निर्देशन दिने निर्णय भएकाे जनाइएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको छ।

यातायातसहितका सार्वजनिक स्थानमा मापदण्ड बनाएर सञ्चालन गर्न सरकारले आजै राजपत्रमा सूचना प्रकाशित गर्नेछ ।

बैठकले चालू हिउँदे अधिवेशन आज दिउँसो १ बजेबाट अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

पुस ५ गते विघटन भएर सर्वोच्च अदालतको फैसलापछि फागुन ११ गते पुनःस्थापित प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते सुरु भएको थियो ।