सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मोरङ मझारे ९ तारेगामास्थित नेपाल-भारत सिमानाको दसगजा क्षेत्र मिचेर भारतीय पक्षले निर्माण गरेको सडक कालोपत्रे गर्न परिचालित भारतीय मजदुर ।किशोर बुढाथोकीविराटनगरः मोरङको मझारे ९ तारेगामास्थित नेपाल-भारत सिमानाको दसगजा क्षेत्र मिचेर भारतीय पक्षले धमाधम सडक निर्माण गरिरहेको छ । नेपालको मझारेस्थित तारेगामा र भारतको अररियास्थित सुनामनी गुदामको सिमानामा सडक बनिरहेको हो ।दुईदेशीय सिमाना छुट्ट्याउने दसगजा क्षेत्रभित्र रहेको जंगे पिलरकै छेउबाट लगभग १२ फिट चौडाइको सडक निर्माण भइरहेको छ । ट्र्याक खोल्ने काम सकेर डेढ किलोमिटर सडक कालोपत्रे भइरहेको छ । सडक कालोपत्रेमा दर्जनौं भारतीय मजदुर परिचालित छन् ।
सडकको उचाइका कारण बर्खाको समयमा नेपाली भूभाग डुबानमा पर्ने खतरा पनि बढेको छ । सडक निर्माणका नाममा दसगजासँगै केही नेपाली भूमिसमेत अतिक्रमण गरिएको गुनासो स्थानीयको छ ।
दसगजामा कुनै पनि भौतिक संरचना निर्माण गर्न र बस्ती बसाउन नपाइने नियम उल्लंघन गर्दै भारतीय पक्षले एकलौटी रूपमा पक्की सडक निर्माण गरे पनि नेपालस्थित प्रशासनिक निकायले त्यसलाई रोक्न प्रभावकारी कदम चाल्न नसकेको गुनासो स्थानीय बासिन्दाको छ ।
‘दुईदेशीय सिमानामा सडक निर्माण गर्नु कूटनीतिक मर्यादाविपरीत हो’, एक स्थानीयले भने, ‘यस विषयमा पटकपटक जानकारी गराउँदा पनि नेपालस्थित प्रशासनिक निकायको पहल प्रभावकारी बनेन ।’‘भारतीयले सीमा क्षेत्रमा अत्याचार नै गरे । उनीहरूको हेपाहा प्रवृत्तिको सिकार सीमावर्ती क्षेत्रका बासिन्दाले हुनु परिरहेको छ’, उनले भने, ‘स्थानीयले सडक निर्माण नगर्न आग्रह गर्दा भारतीय प्रतिकारमा उत्रन्छन् ।’
सडक निर्माणको विरोध गरेमा भारतीय प्रतिकारमा उत्रने र उनीहरूलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले पनि सहयोग गर्ने भएकाले स्थानीय स्तरमा नेपाली सर्वसाधारण त्यसको विरोधमा उत्रन सक्ने अवस्था नरहेको ती स्थानीयले बताए ।
भारत अररियाको सुनामनी गुदाम गाउँ पञ्चायतका मुखिया अजय मण्डलले सडक निर्माणका लागि रकम निकासा गर्न सहयोग गरेका थिए । भारतीय जनता पार्टीका तर्फबाट चुनाव जितेर मुखिया बनेपछि उनले आफ्ना मतदातालाई खुसी पार्न दसगजा र नेपाली भूमि अतिक्रमण हुने गरी सुनामनी गुदाम गाउँ पञ्चायतबाट सडक निर्माणका लागि रकम निकासा गरिदिएको स्थानीय बासिन्दाको भनाइ छ । उनका दाजु विजय मण्डल सोही पार्टीका विधायक हुन् ।गाउँ पञ्चायतबाट निकासा भएको भारतीय २० लाख रुपैयाँले काम भइरहेको र अपुग रकम निकासाका लागि अजयले पहल गरिरहेको बताइएको छ । यस विषयमा समाचार संकलन गर्न र फोटो खिच्न पुग्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अवरोध प्रयास गरेको थियो । सडक निर्माणको विषयलाई लिएर एक महिनाअघि भारतीय र नेपाली अधिकारीबीच छलफल भएको थियो । त्यसक्रममा दुवै देशका अधिकारीबीच दसगजा क्षेत्रमा सडक निर्माण नगर्ने सहमति भए पनि सहमतिविपरीत भारतीय पक्षले कामलाई निरन्तरता दिइरहेको छ ।
दसगजा क्षेत्रभित्रको जंगे पिलरकै छेउबाट १२ फिट चौडा सडक निर्माण भइरहेको हो । डेढ किलोमिटर सडक धमाधम कालोपत्रे भइरहेको छ ।
भारतीय प्रहरी, भारतीय सीमा सुरक्षा बल (एसएसबी) का अधिकारी र नेपालस्थित प्रशासनिक र सुरक्षा अधिकारीबीच छलफल भएको थियो । छलफलमा नेपालका तर्फबाट मोरङका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइराला, सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय मोरङका प्रमुख भुवनेश्वर प्रसाद, मोरङ प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीलगायत थिए । सडक निर्माणको जिम्मा लिएका भारतीय ठेकेदार भने छलफलमा उपस्थित थिएनन् ।सांसद अमृत अर्यालले पनि दसगजा र नेपाली भूमि मिचेर सडक निर्माण भइरहेकामा चासो व्यक्त गर्दै प्रजिअ कोइरालालाई यो काम तत्काल रोक्न प्रभावकारी पहल गर्न आग्रह गरेका थिए ।
सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय मोरङका प्रमुख एसपी भुवनेश्वर प्रसादले दसगजा अतिक्रमण नगरीकन सडक निर्माण गर्ने सहमति भारतीय अधिकारीसँग एक महिनाअघि नै भइसकेको बताए । ‘दसगजा मिचेर सडक निर्माण गरिसकेको र केही स्थानमा काम जारी थियो’, उनले भने, ‘त्यही बेला दुई देशका अधिकारीबीच दसगजा छाडेर भारतीय भूमिमा मात्र सडक बनाउने मौखिक सहमति भएको थियो ।’ लिखित नभए पनि दसगजा र नेपाली भूमि मिचिएको ठाउँको सडक भत्काएर भारततर्फ सार्नेसम्मको मौखिक सहमति भएको एसपी भुवनेश्वरले बताए । उनले भने, ‘सहमतिअनुसार भारतीय पक्षले काम नगरीकन सहमतिविपरीत अहिले पनि सडक निर्माण गरिरहेको भन्ने जानकारी आएको छ । के हो भनेर बुझिरहेका छौँ ।’
कुन ठाउँदेखि भारतीय पक्षले सडक बनाउन पाउने भनेर नेपाल र भारतका अधिकारीबीच सिमाना छुट्ट्याउने काम एक महिनाअघि नै भएको थियो । भारतीय अधिकारीसँग समन्वय गर्दै प्रमुख नापी अधिकृत सुशील डंगोल नेतृत्वको टोलीले सिमाना छुट्ट्याएको थियो । डंगोलले दसगजा छाडेर भारतीयले सडक निर्माण गर्न पाउने गरी सिमाना छुट्ट्याइएका कारण त्यसलाई कार्यान्वयन गर्ने काम सुरक्षा अधिकारीको भएको बताए ।
मोरङका प्रमुख जिल्ला अधिकारी कोइरालाले दसगजा र नेपाली भूमि अतिक्रमण गरी सडक निर्माण नगर्ने सहमति उति बेलै भइसकेको जानकारी दिँदै भने, ‘अझै पनि सहमति कार्यान्वयन नभएको पाइएमा त्यसलाई रोक्न प्रभावकारी कदम चालिनेछ।’
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा