सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । चिनियाँ प्रविधि कम्पनी हुवावेले आफ्नो स्मार्टफोनको लागि आफ्नै अपरेटिङ सिस्टम हार्मोनी ओएस २.० बेटा सुरु गरेको चिनियाँ समाचार संस्था ग्लोबल टाइम्सले जनाएको छ । यसलाई गुगलको अपरेटिङ सिस्टम एन्ड्रोइडको विकल्प मानिएको छ ।
यसले हुवावेलाई अमेरिकाले लगाएको प्रतिबन्धबाट बचाउने अपेक्षा गरिएको छ । वासिंगटनले हुवावेलाई अपरेटिङ सिस्टम बिक्री गर्न अमेरिकी कम्पनी गुगललाई रोक लगाएको छ ।
हुवावेले गत सेप्टेम्बरमा डेभलपर्स कन्फेरेन्स २०२० मा आफ्नै अपरेटिङ सिस्टम हार्मोनी ओएस २.० सार्वजनिक गरेको थियो । हार्मोनी ओएस स्मार्टफोनमा चल्न थालेको पनि त्यही नै पहिलोपटक थियो ।
हुवावेको कन्जुमर बिजनेस सफ्टवेयर डिपार्टमेन्टका प्रेसिडेन्ट वाङ चेङ्लुले बुधबार हार्मोनी ओएस सुरु गर्न आयोजित कार्यक्रममा यसलाई ‘इन्टरनेट अफ थिंग्स’ युगको थालनीमा प्रमुख कदम भएको बताए । यसले उपभोक्तामाझ ‘विध्वंसकारी अनुभव’ ल्याउने पनि उनले बताए ।
यो मोबाइल अपरेटिङ सिस्टमले स्मार्टफोन, ट्याब्लेट, कार, घरायसी उपकरण, घडी, रोबोटलगायत सहज सञ्चालनलाई सहजीकरण गर्दै हाल चीनमा इन्टरनेटको विकासमा भइरहेका ‘दुःखदायी बिन्दु’लाई समाधान गर्ने उनको भनाइ छ ।
हुवावेको हार्मोनी ओएस जडान गरिएका स्मार्ट टिभीहरु चिनियाँ बजारमा उपलब्ध हुन थालिसकका छन् । केही एन्ड्रोइड एपहरु हार्मोनीसँग पनि अनुकूल छन् ।
‘आगामी वर्षदेखि हुवावेका ट्याब्लेटहरु हार्मोनी ओएस जडान भएर आउनेछन्,’ हुवावेका एकजना अधिकारीले भने । सन् २०२१ मा हुवावेले आफ्ना सबै विद्युतीय उपकरणमा हार्मोनी अपरेटिङ सिस्टम अपग्रेड गर्नेछ । साबिकका ग्राहकको उपकरणमा पनि हार्मोनी स्वतः अपग्रेड हुने कम्पनीका सफ्टवेयर हेर्ने भाइस प्रेसिडेन्ट याङ हाइसोङले जानकारी दिए ।
आगामी वर्ष हुवावेले हार्मोनी ओएस सपोर्ट गर्ने स्मार्टफोन रिलिज गर्ने पनि उनले बताए । हाललाई यो सफ्टवेयर चिनियाँ बजार लक्षित छ । तर विश्लेषकहरु हुवावेले निकट भविष्यमै यो मोबाइल अपरेटिङ सिस्टमलाई विदेशी बजारमा पनि पठाउने र यसले उसलाई गुमेको स्मार्टफोन बजार हिस्सा फिर्ता ल्याउन मदत गर्ने बताउँछन् ।
अमेरिकाले गत वर्ष हुवावेलाई कालोसूचीमा राखेको केही महिनापछि हार्मोनी ओएस सार्वजनिक भएको थियो । ट्रम्प प्रशासनले सुरक्षा चुनौती भन्दै व्यापारको कालोसूचीमा राखेपछि अमेरिकी कम्पनी गुगलले सफ्टवेयर र अन्य कम्पनीले माइक्रोचिप्स हुवावेलाई बिक्री गर्न पाएका छैनन् ।
हुवावेले अमेरिकी प्रतिबन्धको छोटो अवधिमै हार्मोनी अपरेटिङ सिस्टम विकास गरेर प्रयोगमा ल्याए पनि यसलाई एन्ड्रोइडको प्रतिस्थापकको रुपमा नभई जगेडा टायरको रुपमा हेरिएको छ । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले हुवावेमाथिको प्रतिबन्ध हटाउने सक्ने संकेतहरु देखिएका छन् ।
ज्यादै तीव्र गतिको फाइभ जी कनेक्सनको युग सुरु भइसककोले हुवावे मात्र नभएर अप्पल, गुगल जस्ता कम्पनीहरुले अहिलेको अपरेटिङ सिस्टमलाई अपग्रेड गर्ने दौडमा सामेल भइसकेका छन् ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा