सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं– चीनले तिब्बतबाट भारत हुँदै बंगलादेशसम्म पुग्ने यार्लुङ जाङ्बो नदीमा विश्वचर्चित थ्री गोर्जेजभन्दा तीन गुणा ठूलो जलविद्युत् परियोजना सञ्चालन गर्ने भएको छ । उक्त परियोजना बन्ने समाचारले भारतमा हलचल मच्चिएको छ । उक्त परियोजना निर्माण गर्ने कम्पनीका प्रमुखले त्यसबाट पानीको स्रोत र आन्तरिक सुरक्षा कायम गर्न सहयोग गर्ने बताए ।
चीनको १४औं पञ्चवर्षीय योजना (२०२१–२५) मा उक्त प्रस्ताव प्रस्ट रुपमा समावेश गरिएको र चीनले यार्लुङ जाङ्बो नदीबाट बिजुली उत्पादन गर्ने पावरचाइनाको नामले चिनिने पावर कन्सट्रक्सन कर्प अफ चाइनाका चेयरम्यान यान झियोङ गत बिहीबारको एक सम्मेलनमा बताएको सेन्ट्रल चाइना कमिटी अफ द कम्युनिस्ट युथ लिग अफ चाइनाको विच्याट एकाउन्टमा आइतबार राखिएको एउटा लेखमा उल्लेख छ ।
‘इतिहासमै यस्तो अर्को योजना छैन । यो चिनियाँ जलविद्युत् उद्योगका लागि एउटा ऐतिहासिक अवसर हुनेछ,’ यानले चाइना सोसाइटी फर हाइड्रोपावर इन्जिनियरिङको ४०औं स्थापना दिवस मनाउन आयोजित सम्मेलनमा भने ।
रिपोर्ट अनुसार यार्लुङ जाङ्बोको मुख्य भंगालो दक्षिणपश्चिम चीनको तिब्बत अटोनोमस रिजनको समृद्ध जलस्रोत हो । यसबाट ७ करोडदेखि ८ करोड किलोवाट आवर विद्युत् (७० देखि ८० हजार मेगावाट) उत्पादन गर्न सकिन्छ । यो भनेको चीनकै विश्वचर्चित थ्री गोर्जेज पावर स्टेसनको तुलनामा तीन गुनाभन्दा पनि धेरै हो । थ्री गोर्जेज २२ हजार ५०० मेगावाटको परियोजना हो ।
तिब्बतको पानीबाट २० करोड किलोवाट आवरसम्म बिजुली निकाल्न सकिन्छ । यो भनेको चीनको कुल क्षमताको ३० प्रतिशत हो । यानले यार्लुङ जाङ्बो नदीमा बन्ने परियोजना जलविद्युत्मा मात्र सीमिन नभएर वातावरण, राष्ट्रिय सुरक्षा, जीवनस्तर, ऊर्जा र अन्तर्राष्ट्रिय सहकार्यका हिसाबले पनि अर्थपूर्ण रहेको बताए ।
यानका अनुसार यार्लुङ जाङ्बो नदीबाट उत्पादन हुने ६ करोड किलोवाट आवर बिजुलीले ३०० अर्ब किलोवाट आवर स्वच्छ, नवीकरणीय र कार्बनशून्य बिजुली वार्षिक रुपमा दिनेछ । यसले २०३० अगाडि नै कार्बन उत्सर्जनको माथिल्लो उचाइमा पुग्ने र २०६० भित्र कार्बन तटस्थ हुने चीनको लक्ष्यप्राप्तिमा ठूलो सहयोग गर्नेछ । यो परियोजनाले आन्तरिक सुरक्षा, दक्षिण एसियासँगको सहकार्यलाई नरम बनाउने काममा पनि मदत गर्ने उनले बताए ।
उक्त नदीको तिब्बती भागमा चीनले विशाल बाँध बनाएको खण्डमा भारतीय भूभागमा बाढीको डर हुने र पानीको पनि अभाव हुने चिन्ता भारतीय अधिकारीहरुलाई छ । त्यसलाई रोक्न अरुणाचल प्रदेशमा विशाल बाँध बनाउन भारतीय अधिकारीहरुले छलफल गरिरहेका छन् ।
यसले तिब्बतलाई वार्षिक तीन अर्ब अमेरिकी डलर बराबरको आम्दानी दिनेछ । उक्त परियोजना तिब्बतको मेदोग काउन्टीमा बन्ने अनुमान छ । यार्लुङ जाङ्बो ग्रान्ड कान्योन यहीँ छ । १४ हजार जनसंख्या रहेको मेदोग चीनको सीमान्त गाउँ हो ।
यसैबीच, भारतले सोही नदीको दुर्गम पूर्वी राज्य खण्डमा १० गिगावाटको जलविद्युत् परियोजना बनाउनेबारे विचारविमर्श गरिरहेको खबर सार्वजनिक भएको छ । चीनमा यार्लुङ जाङ्बो भनिने नदीलाई भारतमा ब्रह्मपुत्रका नामले चिनिन्छ । यो अरुणाचल प्रदेश हुँदै आसामबाट बंगलादेश पुग्छ ।
उक्त नदीको तिब्बती भागमा चीनले विशाल बाँध बनाएको खण्डमा भारतीय भूभागमा बाढीको डर हुने र पानीको पनि अभाव हुने चिन्ता भारतीय अधिकारीहरुलाई छ ।
‘चिनियाँ बाँध परियोजनाको दुष्प्रभाव न्यूनीकरण गर्न अरुणाचल प्रदेशमा विशाल बाँध अहिलेको आवश्यकता हो,’ भारतीय संघीय जल मन्त्रालयका वरिष्ठ अधिकारी टिएस मेहराले भने । यससम्बन्धी प्रस्तावमा सरकारको माथिल्लो तहमा छलफल भइरहेको उनले जानकारी दिए । भारतको यो योजनाले चिनियाँ बाँधको नकारात्मक असर उल्टाउन ठूलो भण्डारण क्षमताको बाँध खडा गर्नेछ ।
भारत र चीनको कूटनीतिक सम्बन्ध अहिले निकै तल्लो बिन्दुमा पुगेको छ । पश्चिमी हिमालय क्षेत्रमा केही महिनाअघि दुई देशका सैनिकबीच मानवीय क्षति नै हुने गरी झडप भएको थियो ।
केही विश्लेषकहरुले ब्रह्मपुत्र नदीको बाँधले भारत र चीनबीचको सम्बन्धमा अर्को संकट निम्त्याउन सक्ने चेतावनी दिएका छन् । ‘भारतले हिमालय क्षेत्रमा चीनको स्थलगत दुस्मनीको सामना गरिरहेको छ भने पछाडितिर समुद्री अतिक्रमण पनि, र पछिल्लो समाचार जलयुद्ध सम्झाएको छ,’ भारत–चीन सम्बन्ध विज्ञ ब्रह्म चेल्लानीले ट्विटमा भनेका छन् ।
मेहराले तिब्बतमा बन्ने कुनै पनि परियोजनाले भारतमा प्रतिकूल असर पार्न नहुने कुरा आफूहरुले चिनियाँ अधिकारीहरुलाई औपचारिक रुपमै सम्झाएको बताए । चीनले त्यसो हुन नदिने आश्वासन दिए पनि त्यो कति समय टिक्छ भन्ने आफूहरुलाई थाहा नभएको मेहराले बताए ।
एसियाका ठूला नदीमा बन्ने जलविद्युत् परियोजना पछिल्लो समय दक्षिणपूर्वी एसियामा बढ्दो क्षेत्रीय तनावका कारण बनेका छन् । मेकोङ नदीमा ठूला बाँध बनाएर नदीको तल्लो प्रवाहमा पर्ने मुलुकहरुलाई सुक्खा बनाइदिएको आरोप चीनले झेलिरहेको छ । बेइजिङले भने त्यस्ता आरोपलाई अस्वीकार गरेको छ ।
यार्लुङ जाङ्बोको भारत प्रवेश गर्नुअघि दक्षिणतिर मोडिने घुम्तीमा चीनले बाँध निर्माण गरेको खण्डमा त्यो भारतका लागि टाउको दुखाइको विषय बन्ने नयाँ दिल्लीस्थित अब्जर्भर रिसर्च फाउन्डेसनका अनुसन्धाता सायाङ्सु मोदक बताउँछन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा