सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । निर्यात व्यवसायी महासंघ नेपाल (फिन)ले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवार चन्द्रप्रसाद ढकालको टिमलाई सहयोग गर्ने भएको छ ।
निर्यातजन्य उद्योग व्यवसायको क्षेत्रमा सक्रिय वस्तुगत संघहरुले स्थापना गरेको निर्यात व्यवसायी महासंघ नेपालले वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल र बस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ र सो प्यानलका वस्तुगततर्फका सदस्य उम्मेदवारहरुलाई स्वागत तथा शुभकामना दिँदै खुला रुपमा सहयोग गर्ने उद्घोष गरेको हो ।
महासंघले शुक्रबार काठमाडौंमा ढकाल प्यानललाई स्वागत गर्दै महासंघ अन्तर्गतका ११ वटा वस्तुगत संघका अध्यक्षले खुला रुपमा ढकाल समूहलाई मतदान गर्ने उद्घोष गरेको हो ।
स्वागत तथा शुभकामना कार्यक्रममा निर्यात व्यवसायी एवं फिनका अध्यक्ष तथा प्रदेश सांसद रामबहादुर गुरुङले महासंघमा वस्तुगत सदस्यको हितका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल र उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठको टिमलाई जिताउनुपर्ने बताए ।
‘व्यावसायिक हितका लागि पनि हामीले महासंघको आसन्न निर्वाचनमा व्यावसायिक टिमलाई जिताउनुपर्छ,’ उनले भने, ‘यसका लागि हामीले चन्द्र ढकालले नेतृत्व गरेको टिमलाई भारी बहुमतले जिताउनु पर्छ ।’
अहिलेको अवस्थामा सरकारले व्यवसायीको समस्या समाधानमा बेवास्ता गरेको भन्दै सरकारसँग छलफल र सहकार्य गरेर आफ्ना समस्या समाधान गराउन पनि ढकालले नेतृत्व गरेको प्यानललाई जिताउनुको विकल्प नरहेको गुरुङको दाबी थियो ।
‘म यस फिन अन्तर्गत रहेको सम्पूर्ण सदस्यलाई क्रस नगरी ढकालले नेतृत्व गरेको टिमलाई मतदान गर्न आग्रह गर्दछु,’ गुरुङले भने, ‘हामीले सानोदेखि ठूलो व्यवसायसम्म सफल रुपमा सञ्चालन गर्दै आएका ढकालले नेतृत्व गरेको टिमलाई जिताउन सक्यौं भने हाम्रो समस्या पनि समाधान हुने आशा लिएका छौं ।’
साथै अबका दिन सरकारसँग दुई धारमा नभई सहकार्य गरेर व्यवसायीका समस्या समाधान गर्न समेत ढकाल समूहलाई उनले आग्रह गरे ।
कार्यक्रममा बोल्दै फिन अन्तर्गत रहेका वस्तुगत संघका अध्यक्षहरुले स्वतः अध्यक्ष भइसकेका व्यक्तिले एउटा टिमको नाममा महासंघभित्र कार्टेलिङ गरेको भन्दै त्यसलाई तोड्न पनि ढकाल प्यानललाई भोट दिनुपर्ने बाध्यता रहेको बताए ।
‘चुनावी प्रतिस्पर्धामा रहेका दुवै प्यानलको सर्वमान्य अध्यक्ष भएर बस्नुपर्ने व्यक्तिले अहिले एउटा टिम खडा गरी उसलाई जिताउन दर्जनौं व्यक्तिलाई मनोनितको बल्छी फालेर हिँडेका छन्,’ कार्यक्रममा फिन अन्तर्गत रहेको वस्तुगत संघका अध्यक्षहरुले भने, ‘उनको उक्त व्यवहारले महासंघमा दुर्घटना निम्तने छ तसर्थ महासंघलाई दुर्घटनाबाट बचाउन पनि ढकाल प्यानललाई जिताउनुपर्ने छ ।’
फिनमा निर्यात क्षेत्रका कार्यरत ११ वटा वस्तुगत संस्था छन् । जसमा नेपाल गलैंचा निर्यात संघ, गार्मेन्ट एसोसिएसन, नेपाल पश्मिना उद्योग संघ, नेपाल हातेकागज संघ, नेपाल हब्र्स एन्ड हर्बल उत्पादक संघ, स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपाल, अलैंची उत्पादक संघ, अदुवा प्रशोधन तथा व्यापार संघ, नेपाल बोटल वाटर उद्योग संघ र सिल्क एसोसिएसन छन् ।
सो कार्यक्रममा सबै संघका अध्यक्ष तथा प्रतिनिधिको उपस्थिति रहेको थियो । कार्यक्रममा वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकालले आफ्नो सुरुवाती व्यवसाय नै निर्यात क्षेत्रबाट सुरु गरेको जानकारी दिँदै आफू पनि फिनभित्रैकै एक सदस्यको रुपमा रहेकोले यस क्षेत्रको विकासका लागि काम गर्ने बताए ।
‘म चुनावको क्रममा यहाँ आएर भोट मात्रै माग्ने र पछि वास्ता नगर्ने भन्ने म र मेरो टिमबाट हुँदैन जुन कुराको यहीँ हलबाट प्रतिबद्धता जाहेर गर्दछु,’ ढकालले भने, ‘हाम्रो टिम जितेर गएपछि तपाईंहरुले गर्व गर्ने गरी काम गरेर देखाउनेछु ।’
साथै व्यावसायिक समस्या पहिचान गरी तत्काल समाधान गर्न स्टेकहोल्डर चाहिने भन्दै त्यसका लागि पनि आफ्नो टिमलाई जिताउन उनले आग्रह गरे ।
कार्यक्रममा फिनका उपाध्यक्ष एवं सिल्क एसोसिएसनका अध्यक्ष शंकर पाण्डेले महासंघ कमजोर हुँदा सम्पूर्ण निजी क्षेत्र कमजोर हुने भन्दै निजी क्षेत्र एक भएर अघि बढ्नुपर्ने बताए ।
कार्यक्रममा वस्तुगततर्फका उपाध्यक्ष उम्मेदवार उमेशलाल श्रेष्ठले आफ्नो टिमको विजयसँगै महासंघले फिनसँग सहकार्य गर्दै निर्यात प्रवर्द्धनमा काम गर्ने बताए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा