सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपत्तिका बेला नागरिकको रक्षा गर्नु सरकारको दायित्व भएको बताएका छन् ।
दसैंका अवसरमा देशवासीको नाममा सम्बोधन गर्ने क्रममा उनले कोरोना महामारीमा जनताको जीवनरक्षा गर्नु सरकारको सबैभन्दा पहिलो काम र कर्तव्य भएको बताए ।
कोरोना महामारी फैलिने देख्दादेख्दै पनि उपचार गर्ने अस्पताल र आवश्यक बेडको व्यवस्था नगरी कानमा तेल हालेर बस्ने र अहिले आएर संक्रमित नागरिकको उपचार गर्न नसक्ने भन्दै पन्छिएको सरकारका प्रधानमन्त्रीको भनाइमा विश्वास गर्ने आधार भने छैन ।
गम्भीर विषयलाई पनि हल्का ढंगले प्रस्तुत गर्ने तथा काममा भन्दा हावादारी गफ दिन रमाइलो मान्ने प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा कोरोना भाइरसजस्तो अदृश्य साझा शत्रुसँगको लडाइँको कठिन घडीमा सरकार नागरिकको जीवन रक्षा र स्वास्थ्योपचारका सन्दर्भमा आफ्ना कर्तव्यबाट बिमुख हुन सक्दैन पनि भन्न भ्याए । कोरोना महामारीविरुद्धको लडाइँ राजनीति वा अन्य स्वार्थको टकरावसँग सम्बन्धित नभएकाले यसलाई पक्षबिपक्षको स्वार्थ, दाउपेच र अस्त्रको हिसाबले प्रयोग नगर्न उनले सुझाए । प्रधानमन्त्रीले जनताको स्वास्थ्य सुरक्षा एवं जीवन रक्षाका लागि सरकारले घोषणा गरेका नियमको कडाइका साथ पालना गर्न पनि आग्रह गरे ।
प्रधानमन्त्री ओलीले बडादसैका मुखमा महामारीको संक्रमण अहिलेसम्मकै उच्च देखिएको र अहिले राजधानी काठमाडौं संक्रमणको केन्द्रजस्तै बन्न पुगेको भन्दै यसको वेग थामिन केही समय लाग्न सक्ने भएकाले यसलाई रोक्न, नियन्त्रण गर्न र संक्रमितको उपचार गर्न सरकारले आफ्ना सम्पूर्ण प्रयास केन्द्रित गरेको दाबी गरे ।
प्रधानमन्त्री यस्तो दाबी गरे पनि कोरोना संक्रमित बिरामी भने अक्सिजनसहितको बेडसम्म नपाएर भकाभक ज्यान गुमाइरहेका छन् ।
दशैंमा फजुल खर्च र भीडभाड नगर्न पनि उनले निर्देशन दिए । प्रधानमन्त्री ओलीले उपदेशको शैलीमा भने, ‘औचित्य र आवश्यकताको वास्तै नगरी, आफ्नो सामथ्र्यको समेत ख्याल नगरी आँखा चिम्लिएर उत्सव मनाउँदा फजूल खर्चमा हौसिने जस्ता अभ्यास कुनै पनि कोणबाट उचित होइन ।’
सर्वसाधारणलाई फजूल खर्च गर्न उपदेश दिने ओली नेतृत्वको सरकार भने महामारीका बेला पनि अनावश्यक चिजमा खर्च गरिररहेकोमा निकै आलोचित बनेको छ ।
‘कुनै पनि विपत्तिमा नागरिकको रक्षा गर्नु सरकारको निःसर्त दायित्व हो । अहिले यस महामारीबाट जनताको जीवनरक्षा गर्नु पनि सरकारको सबैभन्दा पहिलो काम र परम कर्तव्य हो । यस दायित्व पूरा गर्न तपाईंको मतबाट निर्वाचित यो सरकार कुनै पनि बहानामा पछि हट्दैन । म सम्पूर्ण देशवासी दिदीबहिनी दाजुभाइलाई निश्चिन्त रहन अनुरोध गर्दछु, कोभिड–१९ बाट संक्रमित हरेक नागरिकको परीक्षण र उपचारको यथोचित प्रबन्ध यस सरकारले गर्छ । पहिचान, परीक्षण र उपचारमा मात्रै होइन, यस महामारी बिरुद्धको खोपमा नेपाली जनताको सहज पहुँचका लागि समेत सरकार क्रियाशील रहन्छ,’ प्रधानमन्त्री ओलीले सम्बोधनको क्रममा भने ।
उनले महामारीको अवस्थालाई ध्यानमा राख्दै जहाँ छौं त्यहीँ बसेर दसैं मनाउन पनि सुझाए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा