सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । बिना अक्सिजन १० पटक सगरमाथाको सफल आरोहण गरेर किर्तिमान बनाएका विश्व कीर्तिमानी पर्वतारोही आङरिता शेर्पाको राजकीय सम्मानका साथ अन्तेष्टि गरिएको छ । शेर्पाको बुधबार धार्मिक परम्पराअनुसार राजधानीमा अन्तेष्टि गरिएको छ । उनलाई सशस्त्र प्रहरीको टुकडीले सलामी अर्पण गरेको थियो ।
उनले सन् १९८३ देखि सगरमाथा आरोहण सुरु गरेको थियो । उनले बिना अक्सिजन १० पटक सगरमाथाको सफल आरोहण गरेर किर्तिमान बनाएका थिए । यही कारणले गर्दा उनलाई हिउँ चितुवा उपनाम दिइएको थियो ।
सन् १९९६ मा बिना अक्सिजन सगरमाथामा पाइला टेकेका शेर्पाको त्यो अन्तिम आरोहण थियो । सर्वोच्च शिखर सगरमाथा मात्रै नभई बिनाअक्सिजन पाकिस्तानको माउन्ट केटू तथा नेपालका चोयु, मनास्लु, ल्होत्से, अन्नपूर्ण, धौलागिरिलगायत दर्जनौं हिमालको उनले पटकपटक आरोहण गरेका थिए ।
आङरिताको आरोहण यात्रा
सन् १९४८ मा जन्मेका आङरिताको पुर्ख्यौली पेसा चौरीपालन भए पनि १५ वर्षकै उमेरदेखि आरोहणमा लागेका थिए । पहिलोपटक करिब २० वर्षका उमेरमा चोयु हिमालको आरोहण गरेका शेर्पाले बिनाअक्सिजन पहिलोपटक १९८३ मा सगरमाथा चुचुरामा पाइला टेकेका थिए ।
आरोहणका क्रममै रहेका आङरिता बिरामी भएपछि आरोहण यात्रा रोकिएको थियो । सगरमाथा आरोहणमा नजानुको मुख्य कारण उनी बिरामी भएका बेला तत्कालीन राजा वीरेन्द्रले युवराज दीपेन्द्रलाई घरैमा भेट्न पठाएका थिए । गोपीकृष्णस्थित भाडाका कोठामा बसेका शेर्पालाई भेट्न आएका दीपेन्द्रले ‘बुबा (वीरेन्द्र) ले आरोहणबाट संन्यास लेऊ भन्ने हुकुम भएको छ ।’ त्यसपछि उनी आरोहणमा नगएको परिवारको भनाइ छ ।
त्यसबेला राजा वीरेन्द्रले चाहना र आवश्यकता के छ भनेर सोधे पनि आफूले केही पनि चाहना व्यक्त नगरेको आङरिताले पत्रकारसँगको भेटमा भन्ने गरेका थिए । सन् १९९६ तिर दीपेन्द्रले ‘दरबार आउनू’ भनेको भए पनि दरबार नगएको बताउने शेर्पा नेपाल सरकारबाट त्यसबेला त्रिशक्तिपट्ट, गोरखा दक्षिणबाहु जस्ता तक्माबाट भने सम्मानित भएका थिए ।
१० पटकको विश्वकीर्तिमानलाई भने अहिलेसम्म कुनै आरोहीले तोड्न सकेका छैनन् । नेपालको नाम विश्वभरि फैलाउन सफल आफूलाई भारत सरकारले उतै बस्न व्यवस्था मिलाइदिने प्रस्ताव राखे पनि नगएको बताउने शेर्पालाई नेपाल सरकारबाट भने खासै सहयोग प्राप्त नभएको उनकी छोरी डोमाले बताइन् ।
यद्यपि उनको आर्थिक अवस्था दयनीय भएको जनाउँदै नेपाल पर्वतारोहण संघले नियमित सहयोग गर्दै आएको छ । छोरीका अनुसार पर्वतारोहण संघले मासिक १५ हजार दिँदै आएको छ । आङरिताका तीन छोरा र एक छोरी छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा