सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । तेस्रो चरणको क्लिनिकल परीक्षणमा रहेका चीनको कोरोनाविरोधी खोप लिएका हजारौंमध्ये कसैलाई पनि हालसम्म संक्रमण नदेखिएको सरकारी स्वामित्वको खोप निर्माता कम्पनीका एक उच्च अधिकारीले जानकारी दिएका छन् ।
चाइना नेसनल बायोटेक ग्रुप (सिएनबिजी) का कमिसन फर डिसिप्लिनरी इन्सपेक्सनका सेक्रेटरी झोउ सोङले उक्त कम्पनीले निर्माण गरेका कोभिड–१९ विरुद्धको दुई सम्भावित खोपले मानिसहरुलाई तीन वर्षसम्म भाइरसबाट सुरक्षित राख्ने दाबी गरे ।
चिनियाँ राष्ट्रिय रेडियोसँग सोमबार कुराकानीमा उनले कम्पनीले विकास गरेका खोपहरु आपतकालीन योजना अन्तर्गत प्रयोग गरिएको जानकारी दिए । ‘हजारौंलाई खोप दिइएकोमा कसैमा पनि नकारात्मक प्रभाव वा संक्रमण भएको पाइएको छैन,’ उनले भने ।
सुरक्षा र प्रभावकारिता पक्का गर्न उक्त कम्पनीका दुई खोपको तेस्रो चरणको परीक्षण भइरहेको छ । युएई बहराइन, पेरु, मोरोक्को, अर्जेन्टिना र जोर्डनमा यसको परीक्षण भइरहेको छ ।
चीनमा गत जुलाईको अन्तिममा आपतकालीन योजना सुरु गरिएको थियो जसमा उच्च जोखिममा रहेका समूह– स्वास्थ्यकर्मी, कुटनीतिक नियोगका अधिकारी लगायतलाई खोप दिने अनुमति दिइएको थियो ।
यसमा देशबाहिर काम गर्ने हजारौं चिनियाँ सामेल रहेको र उनीहरुमा हालसम्म संक्रमण नदेखिएकाले खोपको प्रभावकारिता पुष्टि भएको उनले बताए ।
हाल विश्वभर कोरोनाविराधी ८ वटा खोप तेस्रो चरणको परीक्षणमा छन् । यसमध्ये चारवटा चिनियाँ कम्पनीका छन् । तीनवटा चिनियाँ खोप –– दुईवटा सिएनबिजी र एउटा सिनोभाकले बनाएको –– लाई सर्वसाधारणमा आपत्कालीन प्रयोगका लागि अनुमति दिइएको छ भने चौथोलाई सेनामाथि प्रयोग गर्न अनुमति छ । सिनोभाकको खोप हाल ब्राजिल र इन्डोनेसियामा प्रयोग भइरहेको छ ।
चीनको नागरिक उड्डयन प्राधिकरणले वायुसेवाका कर्मचारीलाई यी खोप लिन अनुरोध गरेको छ । सोमबार झोउले खोपले छोटो समयका लागि मात्र सुरक्षा दिन सक्ने आशंकाको खण्डन गरे । उक्त खोप सुरुमा सिएनबिजीको प्यारेन्ट कम्पनी चाइना नेसनल फर्मास्युटिकल ग्रुप (सिनोफार्म) का १८० कर्मचारीलाई दिइएको थियो । झोउले उनीहरुमा अझै पनि उच्च तहको एन्टीबडी पाइएको बताउँदै भने, ‘प्रतिरोधी क्षमता कम्तीमा एकदेखि तीन वर्ष कायम रहनेछ ।’
यो खोप लगाएपछि वार्षिकरुपमा लिइने अन्य फ्लूको खोप पनि लगाउन नपर्ने उनले बताए । उनले यो खोप कोरोनाभाइरसका हालसम्म पत्ता लागेका सबै म्युटेसन (परिवर्तन) का लागि प्रभावकारी रहेको जिकिर गरे ।
सिएनबिजीले बेइजिङ र वुहानमा खोप निर्माण गर्ने उद्योग सञ्चालन गरेको छ । यसले वार्षिक २२ करोड खोप उत्पादन गर्न सक्छ भने थप फ्याक्ट्री निर्माण गरेपछि यो संख्या ८० करोड पुग्ने बताइएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा