सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । चिनियाँ औषधी उत्पादक सिनो भ्याक बायोटेकका कर्मचारी र तिनका परिवारका सदस्यले परीक्षणको चरणमा रहेको कोरोना भाइरसविरोधी खोप लगाइसकेको कम्पनीले आइतबार जनाएको छ । कम्पनीका कर्मचारीले स्वेच्छिक रुपमा खोप लगाएको खबरले यसको प्रभावकारिता र सुरक्षाप्रति जनसाधारणको विश्वास बढाएको छ ।
यो कम्पनीले तयार गरेको कोरोना भ्याक नामको खोप अहिले तेस्रो चरणको क्लिनिकल परीक्षणमा छ । कम्पनी प्रवक्ता लिउ पेइचेङले करिब तीन हजार कर्मचारी र उनीहरुका परिवारका सदस्यले स्वेच्छाले नै उक्त खोप लगाएको बताए । चीन सरकारले आतकालीन योजना अन्तर्गत परीक्षणको चरणमा रहेको खोप लगाउन अनुमति दिएको छ ।
चीनले सीमा सुरक्षामा खटिने कर्मचारी, स्वास्थ्यकर्मी र बढी जोखिमयुक्त ठाउँमा काम गर्ने कामदारलाई समेत खोप दिइसकेको जनाएको छ । सिनो भ्याकको कोरोना भाइरसविरोधी खोप उत्पादन गर्ने कारखानाले अगस्टको अन्तिमदेखि खोप उत्पादन सुरु गरेको छ । उक्त कारखानाले वार्षिक ३ करोड डोज खोप उत्पादन गर्न सक्छ ।
तेस्रो चरणको परीक्षणको नजिता सार्वजनिक भएपछि खोप बजारमा आउने कम्पनीका प्रमुख कार्यकारी यिन वेइडोङले बताए । यसै वर्षको अन्तिमतिर उक्त खोपले सर्वसाधारणमा प्रयोगका लागि अनुमोदन हुने अपेक्षा गरिएको पनि उनले बताए ।
सिनोभ्याकको खोपको आपतकालीन प्रयोगको थालनी राजधानी बेइजिङबाटै गरिएको छ । जसमा सिङफादी फुड मार्केटका दशौं हजार सर्वसाधारण सहभागी छन् । गत जुनमा सोही क्षेत्रमा कोरोनाको प्रकोप देखिएको थियो ।
‘यसले आगामी शरद र हिउँदमा दोहोरिन सक्ने प्रकोप रोकथाम गर्नेछ,’ यिनले बेइजिङमा आयोजित चाइना इन्टरनेसनल फेयर फर ट्रेड इन सर्भिसेसमा भने, ‘यो ठाउँमा एकजना मात्रै संक्रमित भयो भने यसले सयौंलाई असर गर्छ । चीनमा सशक्त नियन्त्रण रणनीतिमा सुधार आवश्यक छ र त्यस्तो सुधारको लागि खोप नै विकल्प हो ।’
उक्त खोपको मूल्य नतोकिए पनि यो मानिसले अनुमान गरेजस्तो महँगो नहुने उनले बताए । यो हरेक व्यक्तिले धान्न सक्ने किसिमको हुने उनको भनाइ छ ।
यसैबीच, चीनको अर्को खोप निर्माता कम्पनी चाइना नेसनल बायोटेक ग्रुप (सिएनबिजी) की डेपुटी जनरल मार्केटिङ मेनेजर झाङ यिनानले पनि उक्त कम्पनीले विकास गरेको खोप आफूले लगाइसकेको जानकारी दिइन् । उनले त जनावरमा गरिएको परीक्षण सफल हुने बित्तिकै आफ्नो कम्पनीको उत्पादन कति सुरक्षित छ भन्ने थाहा पाउन आफैंले प्रयोग गरेको बताइन् । आफू सहित १५० कर्मचारीले स्वेच्छाले नै उक्त खोप लगाएको उनले जानकारी दिइन् ।
सिनोभ्याक र सिएनबिजी दुवैले हजारौं व्यक्तिमाथि हुने तेस्रो चरणको खोप परीक्षण गरिरहेका छन् । सिएनबिजीले युनाइटेड अब इमिरेट्स (युएई) मा ३५ हजार व्यक्तिमाथि जारी परीक्षण आगामी नोभेम्बरमा पूरा हुने जनाएको छ । युएईले ठूलो मात्रामा खोप किन्न सिएनबिजीसँग सम्झौता गरिसकेको झाङले जानकारी दिए । तर उनले परिमाण र मूल्य बनाउन चाहेनन् ।
सिनोभ्याकले विभिन्न मुलुकबाट अर्डर आइसकेको जनाएको छ । सिनोभ्याकको खोप टर्की, बंगलादेश, ब्राजिल, इन्डोनेसिया लगायत मुलुकमा तेस्रो चरणको परीक्षण भइरहेको छ ।
गत अगस्टमा सिनोभ्याक र इन्डोनेसियाको सरकारी स्वामित्वको औषधी कम्पनी पिटी बायो फर्माले कोरोना भ्याक्सिन खरिद तथा आपूर्ति सम्बन्धमा एउटा सम्झौता गरेका छन् । यसलाई लिउले चिनियाँ खोप कम्पनीको हालसम्मकै सार्वजनिक जानकारीमा आएको सबभन्दा ठूलो खरिद अर्डर भनेका छन् ।
यो सम्झौता अनुसार सिनोभ्याकले ४ करोड थान अर्थतयारी खोप आगामी नोभेम्बरदेखि मार्चसम्मको अवधिमा पिटी बायो फर्मालाई उपलब्ध गराउनेछ । उसले त्यसलाई प्याकेजिङ गरेर इन्डोनेसियामा आपूर्ति गर्नेछ ।
सिनोभ्याकले विभिन्न मुलुकका अधिकारीहरुलाई उक्त खोप छिट्टै दर्ता गर्ने वातावरण तयार गर्न सुझाएको छ । ‘उदाहरणको लागि यदि ब्राजिलमा हामीले गरेको अध्ययन अन्य दक्षिण अमेरिकी मुलुकले स्वीकार गरे भने यो खोप अन्य मुलुकमा दर्ता गरेर आपूर्ति गर्न सकिन्छ,’ यिनको भनाइ छ ।
आफूहरुले हाालको क्लिनिकल अध्ययनको परिणाम स्वीकार्न र सुरक्षित तथा प्रभावकारी खोप मार्केटिङका लागि अनुमोदन गर्न आग्रह गरेका छौं । निश्चय पनि खोपहरुको ठूलो बजार, ठूलो माग र ठूलो चुनौती सबै चीनमै छ,’ उनले भने ।
सिनोभ्याकले तेस्रो चरणको क्लिनिकल परीक्षणमा पनि गम्भीर किसिमको प्रतिकूल असर नदेखिएको जनाएको छ । यसले खोप सुरक्षित छ भन्ने संकेत गर्छ । ‘प्रतिकूल प्रतिक्रिया देखिएको भनेको खोप लगाएको ठाउँमा दुख्ने, थकान र कमजोरी महसुस हुने र खोप लगाएको ठाउँ सुन्निने मात्रै हो जुन अस्थायी मात्रै हुन्छ,’ लिउले भने, ‘ज्यादै थोरै व्यक्तिमा एलर्जी र ज्वरो आएको छ ।’
गत महिना सिनोभ्याक र सिएनजिबी दुवैले उपभोक्तालाई अनलाइनमा आइरहेका कोरोना खोप बिक्रीसम्बन्धी विज्ञापनको विश्वास नगर्न आग्रह गरेका थिए । (साउथ चाइना मर्निङ पोस्टबाट भावानुवाद)
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा