सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
टीकापुर । कैलालीको जानकी गाउँपालिका ६ जगतपुरमा लाखौंको केरा बारीमै पाक्दै कुहिएर खेर गइरहेको छ । देशमा लागेको चरणबद्ध लकडाउनका कारण उत्पादित केरा बजारसम्म जान नसकेपछि केहि केरा बारीमै पाकेर खत्तम हुन थालेका छन् भने केही स्टोरमा ल्याएर बेच्नका लागि तयार भएका केरा कुहिन थालेका छन् ।
जानकी गाउँपालिका १ दुर्गौली र ६ जगरपुरमा केरा व्यवसाय गरिरहेका श्री नवदुर्गा भवानी कृषि फर्मका सञ्चालक सुकदेव प्रसाद खनाल अहिले केरा बारीमै पाकेर खेर गइरहेको देखेर निकै चिन्तित देखिन्छन । लकडाउनभन्दा अगाडी करिब २ लाखको केरालाई बजार पठाएका उनले अरु केरा पनि बजार पठाउन तयार पारेका थिए तर लकडाउनका कारण उनले भण्डारण गरेर राखेका केरा समेत लिन कोहि आएन । जगतपुरमा ४ बिगाहा र दुर्गौलीमा साढे ६ बिगाहा गरि साढे १० बिगाहामा केरा व्यवसाय गरिरहेका खनाल यतिबेला छाँगोबाट खसेजस्तै महसुस गरिरहेको बताउछन् । “धेरै सम्भावना छ भनेर हात हालियो, व्यवसाय सुरु गरेको पनि धेरै भएको छैन भर्खर २ लाख जतिको केरा बजार पठाउन सकेँ,” उनले दुखेसो पोख्दै भने, “कोरोनाका कारण एक्कासी लकडाउन लाग्दा बजार पठाउन तयार भएका केरा पनि कुहिए अब अरु बारीमै कुहिदै छन् ।” उनले थपे, “गाउँका मान्छेले केरा किनेर खादैनन, खाइहाले पनि फाट्टफुट्ट हो, बजारसम्म केरा पुग्नै पाउदैन, गाडी नै आउदै । व्यापारीको फोन नआएको कति दिन भइसक्यो ।”
५० लाखभन्दा बढी लगानी गरेर व्यवसाय सुरु गरेका खनालले दुबै ठाउँको जग्गाको भाडा बर्सेनि ३ लाख २० हजार तिर्नुपर्छ । यस्तै लगानी गर्न लिएको ऋण पनि जस्ताको तस्तै छ । यता व्यवसाय खस्किदो छ । पाकेका केरा पनि कुहिएर खेर गइरहेका छन् । केरा घारीमै पाकेर खस्दै छन, कुहिदै छन् । चोरको बिगबिगी पनि बढेको छ । राती आएर केराको घारी नै काटेर लिइरहेका छन, कसैले आधा घारी काटेर भाग्छन । उता ऋणको ब्याज, जग्गाको भाडा, कामदारलाई ज्याला, विद्युत महसुल दिने बेला भइसक्यो । उनी भन्छन्, “यो सिजन केराको हो त्यसैले यो पटक धेरै आम्दानी हुने भन्ने सोचिएको थियो त्यही अनुसार काम पनि गरिरहेको थिएँ । यदि यो पटक मेरा केरा बजारसम्म जान पाएको भए करिब १५ लाखभन्दा बढी आम्दानी हुन्थ्यो ।”
केरा व्यवसायले पहिलोपटकमै आफुलाई फेल भएको आभास भइरहेको भन्दै सरकारले आफ्नो देशमा केराको यत्रो व्यवसाय हुदाहुदै भारतबाट केरा आयात गरिरहेकोले व्यवसायीलाई झन मार परेको दाबी गरे । नेपालमै उत्पादित केराले देशभरका नागरिकलाई पुर्याउन सकिने भन्दै केही बुझेर, सबैतिर अनुगमन गरेर यस्ता विषयमा सरकार गम्भीरताका साथ निर्णय गरेर व्यवसायीहरु उत्साहित हुन्छन् । “अब यतिबेला हामी व्यवसायी के गर्ने ? नेपालमै केराको व्यवसाय बाक्लो छ झन कैलाली केरा व्यवसायको हव नै हो तर सरकार बाह्य देशका वस्तुहरु मात्र आयात गर्न मन पराउछ,” उनले भने, “यतिबेला मारमा परेका व्यवसायीको ऋण मात्रै पनि मिनाहा गरिदिए राहत हुने थियो, यसमा स्थानीय सरकारदेखि प्रदेश सरकार, केन्द्र सरकारले सोच्नुपर्छ नत्र व्यवसायी त मर्छन् ।”
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा