सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ २० । काठमाडौँ महानगरपालिकामा फूल, बोटबिरुवा व्यवस्थापन र हेरचाह गर्दै आउनुभएकी उर्मिला पोखरेल फूलको बिरुवाका लागि प्रायः महानगरले तोकेको नर्सरीकै भर पर्नुहुन्छ ।
सडकमा लगाउने बिरुवाका लागि भने उहाँ वन कार्यालयमा उपलब्ध मध्यम उचाइका बिरुवा छनोट गर्नुहुन्छ । ललितपुर र भक्तपुरमा पनि यस्तै चलनबाट बिरुवा छनोट हुने गरेको छ । काठमाडौँ उपत्यकालाई हरियाली सौन्दर्यको उपत्यका बनाउन यहाँ अवस्थित काठमाडौँ, ललितपुर र भक्तपुर महानगरपालिकाको छुट्टाछुट्टै बृहत् योजना छन् तर हरियाली सहर निर्माण गर्दा उपत्यकाको जैविक विविधता र नेपालको जैविक विधिताको संरक्षण गर्ने तवरले भने भएको छैन ।
यसरी बिनाकुनै मापदण्ड फूल, बोटबिरुवा लगाइने गरेको पुष्टि काठमाडौँ महानगरपालिका, वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले गर्नुभयो । “कस्तो बिरुवा रोप्ने भन्ने सामान्य फाइल त बनाएका छौँ,” उहाँले थप्नुभयो, “तर नेपालको वा बाहिरको भनेर छनोट हुन्न, निजी नर्सरी र वन कार्यालयको नर्सरीमा उपलब्ध हुने नै प्रयोग गरेका छौँ । ” जैविक विविधता संरक्षणतर्फ त्यति ध्यान महानगरको गएको देखिएको छैन ।
श्रेष्ठका अनुसार महानगरले हरियाली सहर निर्माण गर्न फलफूलका बिरुवा सडक छेउछाउ लगाउने योजना बनाएको छ । करिब ३५ वटा आइल्यान्डमा फूल रोप्ने तयारी भइरहेको छ । जसका लागि उपत्यकामा एकअर्को जिल्ला वा सहरबाट मात्र हैन, विदेशबाटै आयातित फूल तथा बोटबिरुवा प्रयोग हुने गरेको छ ।
अझ फूलमा धेरै विदेशी हाइब्रिड जातको विकास भइसकेकाले हरेक नर्सरीमा त्यही फूल बिक्रीवितरण भइरहेको पाइन्छ । यसरी जथाभावी बिरुवा लगाउँदा रैथाने जैविक विविधतायुक्त बिरुवा लोप हुने र यसको आनुवांशिक गुणमै असर पर्ने विज्ञहरू बताउँछन् ।
वन तथा वातावरण मन्त्रालय, जैविक विविधता महाशाखाका प्रमुख यज्ञनाथ दाहाल रैथाने जातको संरक्षण गर्दै बिरुवा लगाउनुपर्ने सुझाउनुहुन्छ । “विशेषगरी हरियालीकरणको उद्देश्य सौन्दर्य बढाउनु हो,” उहाँ थप्नुहुन्छ, “ठूला हाँगा नजाने, मौसमअनुसार फूल फुल्ने, मध्यम कदका बिरुवा रोप्नु उचित हुन्छ । ”
एक समयमा राजधानीमा लगाइएको लहरे पीपलका रूख अनुचित तवरले लगाइएको उहाँले स्वीकार्नुभयो । उहाँका अनुसार सडकमा लगाउन राजवृक्ष, चाँप, तेजपात, धुपी, आरु, कल्की फूल लगायतका बिरुवा सिफारिस हुने गरेको छ ।
जैविक विविधता, वन तथा वातावरण संरक्षणका लागि सरकारले राष्ट्रिय वन नीति २०७५ जारी गरेको छ । त्यस्तै वातावरण नीति स्वीकृतिको चरणमा छ । त्यस्तै जलवायु परिवर्तन नीति मस्यौदा भइरहेको छ । त्रिभुवन विश्वविद्यालयको प्राणीशास्त्र विभागका अध्येता नन्दबहादुर सिंहले जैविक विविधता र जनजीवनका बारेमा अध्ययन नै गर्नुभएको छ । त्यसैले सहरमा हरियाली विकास गर्दा वातावरण, यहाँको जनजीवन र जैविक विविधता तीनै कुरालाई ध्यानमा राखेर गर्नुपर्ने औँल्याउनुहुन्छ ।
“व्यवस्थित प्रणालीअनुसार योजना बन्नुपर्छ,” उहाँले भन्नुभयो, “कहाँ बस्ती, कहाँ पार्क, कहाँ ठूला सडक र कहाँ जङ्गल भनेर राष्ट्रिय रूपमै तय गरिनुपर्छ । ” उहाँका अनुसार बेलायतमा ६ लेनको बाटोमा सुन्दर बिरुवा रोप्ने, ठूलो पार्कमा अक्सिजन दिने खालका बिरुवा अनि बस्तीभित्र फरक खालका बिरुवा लगाइने गरिन्छ । त्यस्तै जापानका औद्योगिक क्षेत्रको डिजाइनमै हरियालीको फरक योजना हुन्छ । यो खबर आजको गोरखापत्र दैनिकले छापेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा