सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बाके, जेठ ७ । लागुऔषध सम्बन्धी विज्ञ कुकुरको सहयोगमा प्रतिबन्धित लागुऔषधसहित बाँकेमा सात पक्राउ परेका छन् । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो प्रदेश नं ५ नेपालगञ्जको टोलीले उनीहरुलाई नेपाल–भारत नाका जमुनहाबाट विज्ञ कुकुरको सहयोगमा पक्राउ गरेको हो ।
प्रदेश नं ५ ब्यूरो प्रमुख प्रहरी निरीक्षक वीरबहादुर थापाका अनुसार भारतबाट नेपालगञ्ज आउँदै गरेका उनीहरुलाई कुकुरले सुँघेर पहिचान गरेको थियो । लागुऔषध विज्ञ गौरी नाम गरेको पोथी कुकुरले उनीहरुलाई नियन्त्रणमा लिन सहयोग गरेको प्रहरी निरीक्षक थापाले बताउनुभयो ।
कुकुरको सहायतामा १० ग्राम ब्राउनसुगरसहित शर्मरानी गाउँपालिका वडा नम्बर ५ प्यूठानका अदिल मियाँलाई नियन्त्रणमा लिइएको छ । प्रहरी निरीक्षक थापाका अनुसार सीमावर्ती भारतीय बजार रुपैडिहाबाट आउँदै गरेकी घोराही उपमहानगरपालिका वडा नम्बर ३ की लक्ष्मी खड्का र नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० आदर्शनगरकी सुमन श्रेष्ठको साथबाट एक ग्राम ब्राउनसुगर बरामद गरिएको छ । कुकुरको सहायतामा उनीहरुलाई नियन्त्रणमा लिएको थापाले बताउनुभयो ।
यस्तै नेपालगञ्ज वडा नम्बर १८ भुजइगाउँका किशोरकुमार धोवीलाई चार ट्याब्लेट नाइट्रोजन, १० क्याप्सुल स्पास्मो र एक बोत्तल अल्टोरेक्ससहित जमुनाहा नाकाबाट नियन्त्रणमा लिइएको छ । प्रहरीले कोहलपुर नगरपालिका–९ का राजेन्द्र हरिजनलाई ३९ ट्याब्लेट नाइट्रो भ्याटसहित पक्राउ गरेको छ । प्लाष्टिक झोलामा रहेको चनाभित्र लुकाएर रुपैडिहाबाट ल्याउने क्रममा उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक थापाका अनुसार, रुपैडिहाबाट आउँदै गरेका थप दुई बालकका साथबाट चार ट्याब्लेट नाइट्रोजन पनि बरामद भएको छ । ती दुवै बालकलाई अभिभावकको जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । सीमामा लागुऔषधको कारोबार बढिरहेका बेला प्रहरीले लागुऔषधसम्बन्धी विज्ञ कुकुर नै परिचालन गरेर नियन्त्रण शुरु गरेको हो । (रासस)
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा