सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
गलकोट, बैशाख १५ । ढोरपाटन शिकार आरक्षमा दोस्रो शिकार याममा छ नाउर र तीन झारलको शिकार भएको छ। आरक्षमा यो वर्षको दोस्रो शिकार यामका लागि १० नाउर र चार झारलको शिकार खेल्ने अनुमति दिइएकामा शिकार कम्पनीहरूले छ नाउर र तीन झारल मात्रै शिकार भएको आरक्ष कार्यालयले जनाएको छ। नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्षलाई विश्वका साहसिक शिकारीहरूले आफ्नो प्रमुख गन्तव्य बनाउँदै आएका छन्।
शिकारका लागि शिकार कम्पनीले यो याममा एउटा नाउरको १३ लाख एक हजारदेखि १३ लाख ५१ हजार रुपैयाँसम्म र एउटा झारलको १३ लाख एक हजारदेखि १३ लाख ५० हजार रुपैयाँसम्म राजस्व विभागलाई बुझाएका थिए। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गरेको बोलपत्र प्रक्रियाबाट छ कम्पनीले शिकारी पठाउने जिम्मा पाएअनुसार कम्पनीले विभागसँग सम्झौता गरी शिकारीलाई शिकार गर्ने अनुमति दिएको थियो। ‘हरेक वर्ष विभागले बोलपत्र प्रक्रियामार्फत शिकार कम्पनी छनोट गरेर शिकार गराउँछ’, बागलुङ शिकार आरक्ष कार्यालयका सूचना अधिकारी विष्णु रोकायले भन्नुभयो, ‘यो याममा शिकारीको कम उपस्थिति तथा असफलताले पूरै शिकार हुन सकेन।’
विश्वभरका साहसिक शिकारीका लागि प्रख्यात मानिएको यस आरक्षमा शिकारका लागि अमेरिका, रसिया, स्पेनलगायत मुलुकका प्रसिद्ध शिकारी आउने गरेको रोकायले जानकारी दिए। ढोरपाटन क्षेत्रमा पाइने नाउर तथा झारलको शिकार गर्नु विश्वकै साहसिक काम हुने भएकाले ट्रफी जित्नका लागि शिकारी ढोरपाटन आउने गरेको शिकार आरक्ष कार्यालयको भनाइ छ।
यो याममा हिमालयन सफारीले अनुमति पाएको दुई नाउरमध्ये एकको शिकार हुन सकेन भने एक शिकारी अनुपस्थिति भए, यस्तै ‘ट्रयाक एण्ड ट्रेडल’ले अनुमति पाएको दुई नाउर र एक झारल शिकार गरेको, ‘ग्लोबल सफारी’ले अनुमति पाएको एक नाउर शिकार गरेको, ‘नेपाल वाइल्ड लाइफ सफारी’ले अनुमति पाएको दुई नाउर र एक झारल शिकार गरेको थियो।
यस्तै ‘नेपाल वाइल्ड लाइफ आटफिटस’ले अनुमति पाएको दुई नाउर र एक झारलमध्ये एउटा नाउर र एउटा झारल शिकार गर्न असफल भएको र एक नाउर शिकारी अनुपस्थितिका कारण शिकार हुन नसकेको र ‘नेपाल वाइल्ड लाइफ एडभेञ्चर’ले अनुमति पाएको एक नाउर र एक झारल शिकार गरेकोे शिकार आरक्षले जनाएको छ। हरेक आर्थिक वर्ष असोजदेखि मंसिर पहिलो हप्तासम्म आरक्षमा पहिलो यामको शिकार गरिन्छ भने फागुनदेखि वैशाख पहिलो हप्तासम्म दोस्रो यामको शिकार गरिन्छ।
यो आर्थिक वर्षको दोस्रो यामबाट एक करोड ८९ लाख १० हजार रुपैयाँ राजस्व सङ्कलन भएको शिकार आरक्ष कार्यालयले बताएको छ। सरकारले २०४२ सालमा शिकार आरक्ष स्थापना गरेपछि यहाँ विदेशी पर्यटकको आकर्षण बढ्न थालेको थियो। विश्वमा वैधानिक रूपमा शिकार गर्न पाइने सयौँ शिकार आरक्ष भए पनि प्रख्यात शिकारीले भने नेपालको ढोरपाटन शिकार आरक्षलाई मुख्य गन्तव्यका रूपमा लिने गरेका छन्।
१५ दिनको शिकार अनुमतिसहित शिकार गर्न आउने शिकारी पर्यटकले आरक्षबाट खटिएर जाने कर्मचारीको प्रत्यक्ष निगरानीमा अनुमति प्राप्त हतियार तथा गोली प्रयोग गरी भाले नाउर वा झारल मात्र शिकार गर्न पाउने व्यवस्था गरिएको छ। रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा